गलकोट कला प्रतिष्ठानले, बाग्लुङ्ग मा पत्रकार भेट-घाट पश्चातको न्यूज रेपोर्टिङ्ग

2020, Jan 22

गलकोट कला प्रतिष्ठानले, बाग्लुङ्ग मा पत्रकार भेट-घाट पश्चातको न्यूज रेपोर्टिङ्ग

नेपाल सहित ११ देशका १५ जना विख्यात मूर्तिकारको जमघट हुने

बागलुङ
आगामी जेठ अन्तिम सातासम्ममा बागलुङमा नयाँ पर्यटकीय गन्तव्य थपिने भएको छ ।

जिल्लाको गलकोट नगरपालिका वडा न. ५ मा खुल्ला मूर्तिकला बगैँचा एवं संग्रहालय निर्माण हुनेभएसँगै नयाँ पर्यटकीय गन्तव्य थपिने भएको हो ।

संग्राहालय निर्माणको लागि आगामी फागुन ४ गतेदेखि स्थलगत मूर्तिकला कार्यशाला गरिने छ । कार्यशालामा नेपाल सहित ११ देशका १५ जना विख्यात मूर्तिकारहरुको सहभागिता रहने गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाले बताए ।

कार्यशालामा जापानका मूर्तिकार जुनिचिरो सुगीमोतो, इटालीका बेतीनो फ्रान्सेनी, इजरायलका तानिया प्रिमेन्जर, ब्राजिलका जर्ज लुईज सोडर, फ्रान्सका जेभियर गोन्जालेज,युक्रेनका ल्यूडमाइला माईस्को, ताईवानका लिन लि जेन, क्यानडाका जुली ग्लास्पी, भारतका टुटु पटनायक, चीनका ल्यू याङ्ग, नेपालका प्रविण श्रेष्ठ, ओम खत्री, राजु पिठाकोटे, बुद्ध थारु, राजन काफ्ले सहभागि हुने छन् ।

मूर्तिकारहरुले २० दिनसम्म गलकोटमा रहेर विभिन्न आकृतिका १५ वटा मूर्तिहरु निर्माण गर्नेछन् ।

सांस्कृतिक एवं नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने, अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाद्वारा खुल्ला–मूर्तिकला संग्रहालय निर्माण, ललितकला अध्ययन अनुसन्धान स्थलका रुपमा विकास गर्ने उद्धेश्यका साथ कार्यशालाको आयोजना गरिएको रानाको भनाई छ ।

उनले कार्यशालाले कला संस्कृतिको विकास, प्रचार प्रसार, संरक्षण र सांस्कृतिक पहिचान स्थापित, आर्थिक, सामाजिक एवं पर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा रहेको बताए ।

अहिले मूर्ति कार्यशाला तयारीलाई तीब्र पारिएको छ । आर्थिक जुटाउने, ढुङ्गा खोज्ने, मूर्ति कुँद्न सजिलो स्थान तयार पार्ने लगायतका कार्यहरु भईरहेका छन् । रानाले भने ‘आगामी फागुन ४ गतेदेखि २१ गतेसम्म हुने कायशालाको लागि दौडधुप गरिरहेका छौँ ।’

खुल्ला मूर्तिकला बगैँचा एवं सग्रहालय २०७७ जेठ मसान्तसम्ममा विधिवत उद्घाटन गरिनेछ । कार्यशालाको लागि करिब १ करोड ४१ लाख ७८ हजार रुपैयाँ खर्चिनेछ ।

More Blogs